के नयाँ ,के पुरानो ?

 

नयाँ र पूराना पार्टी भन्ने भाष्य नै जायज छैन ।प्रश्न समयानुकूल बिचार ,कार्यक्रम र  नेतृत्वको हो ।प्रश्न पद्धतिको हो ,बिधिको हो ।विधि ठिक र चिन्तन नयाँ छ भने ,४८ बर्षमै ओबामा पनि राष्ट्रपति बन्छन र ८० बर्षको उमेरमा पनि वाईडेन दोस्रोपटक संयुक्तराज्य अमेरिकाको रास्ट्रपति बन्ने घोषणा गर्न सक्छन ।जनताले पत्याए बन्न पनि सक्छन।नयाँले चमत्कारै चमत्कार गर्ने र पुरानाले बर्बादमात्र गर्ने भन्ने हुँदैन ।जरुरी ,रुपान्तरणको हो ।प्रश्न , पार्टीमा Version update को हो।

**** नेपाली काङ्ग्रेस स्थापना -सन १९५० ****
नेपाली काङ्ग्रेसको तुलनामा १०० बर्ष भन्दा बढी उमेर भएका र लोकतान्त्रिक रुपले उन्नत पार्टीहरु ,अझै सम्म संसारका अति विकसित रास्ट्रहरुमा जबर्जस्त लोकप्रिय छन् ।
डेमोक्रेटिक पार्टी ,अमेरिका -----स्थापना -सन् १८२८
रिपब्लिकन पार्टी अमेरिका -----स्थापना सन्  १८५४
कन्जरभेटिभ पार्टी ,बेलायत ----स्थापना ,सन् १८३४
  लेबर पार्टी ,बेलायत ---------स्थापना, सन् १९००


समयसापेक्ष बिचार ,संगठन र नेतृत्वको अपरिहार्यता , त्यसले देखाउने सपना , जनताले भरोसा र महशुस गर्ने गरि  देखिने कार्यशैलीले कुनै पनि पार्टीको भविष्य निर्धारण गर्छ ।कुनै पनि पार्टीको जीवन कस्तो छ भन्नलाई त्यसले  इतिहासमा कस्तो पक्षधरता देखायो अर्थात कहाँ उभियो भन्ने हो ।पार्टी कहिले जित्छ ,कहिले हार्छ ।पार्टीले उठाउने एजेन्डा अनुसार  जनताको मत पनि बदलिरहन्छ ।तर पार्टीका केही निश्चित मूल्य ,मान्यता हुन्छन जसमा पार्टीले सम्झौता कदापि गर्न हुँदैन ।त्यही नै पार्टीको पहिचान हो।

उदाहरणका लागि नेपाली कांग्रेसले जस्तोसुकै अवस्थामा पनि लोकतान्त्रिक मुल्यमा सम्झौता गर्दैन भन्ने यसको मुल परिचय हो।तर आजभोलि नेपाली कांग्रेस कतै ,कुनै कुनै बिषयमा आफ्नो परिचय भन्दा पर गयो कि भन्ने प्रश्न हालैको निर्वाचन परिणामले देखाएको छ । भारतीय जनता पार्टी भन्न बित्तिकै हामी हिन्दु बिचार बोक्ने ,हिन्दुत्वलाई आफ्नो सर्वोपरि सम्पत्ति मान्ने दल सम्झन्छाैँ।यो उसको परिचय हो ।यसरी आफ्नो स्पष्ट पक्षधरता नदेखाउने ,विचार र सिद्धान्त बिहिन समुहलाई पार्टी भन्न अलि हतारो हुन्छ।


इतिहासमामा थुप्रै पार्टीहरु जन्मिएका छन ।निर्वाचन  उल्लेख्य सिट सहित जितेका पनि छन र समयक्रममा हराएका पनि छन ।पार्टी नयाँ हुँदा पार्टीका सदस्यहरु पनि नयाँ हुन्छन ,युवा हुन्छन।जुनसुकै पार्टीमा पनि ।तर समयसंगै पार्टीको  उमेर बढ्छ ,नेताहरू पनि पुराना हुन्छन् र ती प्रभावशाली देखिन्छन।युवाहरु भन्न थाल्छन ,पार्टीमा वृद्धहरुको हालीमुहाली भयो ।जब नेपाली कांग्रेस  बि.सं २०१५ मा  मा पहिलो चोटि निर्वाचन लड्दै थियो ,प्राय सबै उम्मेदवारहरु लक्का जवान नै थिए ।२०४८ मा युवाहरूको  संसदमा भारी मात्रामा उपस्थिति थियो। अहिले पाका नेताहरुको बर्चस्व हुनु अर्थात ती प्रत्यक्ष  राजनीतिभन्दा बाहिर रहेर पार्टीलाई योगदान गर्न तयार नहुनुको मुल जड ,२०१७ पछि ३० बर्ष सत्ताबाहिर रहनुको असर एक त हुँदै हो ।त्यसमा पार्टी भित्रको सदस्यता प्रणालीमा संशोधन नहुनु अर्को कारण हो ।त्यसरी नेपाली कांग्रेस पार्टी भित्र फरक फरक पुस्ता रहनगएको देखिन्छ ।अहिले रा.स्व. पा (नयाँ पार्टी ) मा युवाहरु धेरै हुनु ,यसको तातो जन्म नै हो।भोलि त्यस पार्टीमा पनि समयसंगै युवा र पुरानाको प्रश्न नउठ्ने भन्ने हुँदैन ।त्यसैले युवा र पाका भन्ने प्रश्न भन्दा पनि नेताहरूले बोक्ने एजेन्डा कस्तो हुन्छ ,त्यो प्रधान बिषय हुनुपर्छ ।

त्यसैले नयाँ हुने बित्तिकै आहा र पुराना हुन बित्तिकै छ्या भन्ने बुझाई सहि बुझाइ होइन ।एउटा निर्वाचनको परिणामले हौसिनु र निराश हुनु भन्दा पनि बिचार ,कार्यशैली र आचरण समयानुकूल बनाउनुले राष्ट्रलाई सकारात्मक योगदान दिन सक्छ।

Comments